डिभिजन दुईमा नेपाली क्रिकेटर : को हिट ? को फ्लप ? - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Sunday, February 18, 2018

डिभिजन दुईमा नेपाली क्रिकेटर : को हिट ? को फ्लप ?


४ फागुन, काठमाडौं । नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । फाइनलमा पुगेसँगै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा स्थान बनाएको नेपाल उपाधि भिडन्तमा भने ८ रनले चुक्यो ।

१. सन्दिप लामिछाने
लिग चरणमा नेपालले पाँचमध्ये चार खेल जिथेको थियो । प्रतियोगितामा धेरै नेपाली खेलाडीहरुको प्रदर्शन शानदार रह्यो भने केही यसपटक चल्न सकेनन् । यहाँ नेपाली टोलीबाट खेलेका १२ खेलाडीको प्रदर्शनको संक्षिप्त चर्चा गरिएको छ :
१७ वर्षीय युवा स्पिनर सन्दिप लामिछाने डिभिजन २ प्रतियोगितामा उत्कृष्ट बलिङ गरे । उनी म्यान अफ द सिरिज नै घोषित भए । उनले कुनै पनि टिमका ब्याट्सम्यानहरुलाई खुलेर खेल्न दिएनन् ।
६ म्याचमा १७ विकेट लिएका सन्दिप प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा पहिलो नम्बरमा छन् ।
ओमानका बिलम खानले समान विकेट लिए पनि राम्रो इकोनोमीका कारण सन्दिप अगाडि छन् । केन्याविरुद्धको महत्वपूर्ण खेलमा उनले केवल २० रन दिएर पाँच विकेट चट्का थिए ।
इन्डियन प्रिमियर लिगको टिम दिल्ली डेयडेभिल्सले खरिद गरेका उनले प्रतियोगिताबाट आफूलाई अन्तर्राष्ट्रिय स्तरको खेलाडी प्रमाणित गरेका छन् ।
सन्दिपको योगदानको कुरा गरिरहँदा उनको ब्याटिङलाई पनि नजरअन्दाज गर्न मिल्दैन । पुछारमा ब्याटिङ गर्न आउने सन्दिपले दुईवटा खेलमा अन्तिम विकेटका लागि म्याच विनिङ पार्टनरसिप गरेका थिए ।
नामिबियाविरुद्ध बसन्त रेग्मीलाई र क्यानाडाविरुद्ध करण केसीलाई उनले साथ नदिएको भए नेपालको सम्भव थिएन ।
२. पारस खड्का
नेपाली टोलीका कप्तान पारस खड्काले डिभिजन २ प्रतियोगितामा ‘लिडिङ फ्रम द फ्रन्ट’ को उदाहरण पेश गरे ।
उनी नेपालका लागि मात्र होइन, प्रतियोगितामै सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्न सफल भएका छन् । उनले ६ खेलमा ४८ को औसतमा जम्मा २४१ रन बनाए ।
फाइनलमा पारसले आक्रामक शतक प्रहार गर्दै नेपाललाई जितको नजिक पुर्‍याए पनि यूएई ७ रनले विजयी बन्यो । समूह चरणमा यूएईविरुद्ध ‘लो स्कोरिङ’ म्याचमा पारसले ४८ बलमा हानेको अर्द्धशतक निर्णायक बनेको थियो ।
केन्याविरुद्ध उनले ४४ बलमा ४२ रनको महत्वपूर्ण पारी खेले । उनी प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान समेत बनेका छन् ।
अलराउन्डर पारसले २६ ओभर किफायती बलिङ पनि गरे र १२६ रन खर्चेर तीन विकेट लिए ।
३. रोहितकुमार पौडेल
१५ वर्षीय ब्याट्सम्यान रोहितकुमार पौडेलले डिभिजन टूमै नेपालको सिनियर टिममा डेब्यू गरेका हुन् ।
तर, उनले टिमका लागि महत्वपूर्ण योगदान दिए र आफू लामो रेसको घोडा भएको छनक देखाए । रोहित ब्याटिङका लागि क्रिजमा आउँदा नेपाल सँधै संकटग्रस्त अवस्थामा हुन्थ्यो । परिस्थितिको माग अनुसार सुझबुझपूर्ण ब्याटिङ गर्दै उनले तल्लो मध्यक्रमको उपयोगी ब्याट्सम्यान सावित गरे । ६ खेलमा रोहितको ब्याटबाट १४० रन निस्कियो, जून नेपालका ब्याट्सम्यानले बनाएको दोस्रो धेरै रन हो ।
उनीभन्दा धेरै रन पारसले मात्र बनाएका छन् । केन्याविरुद्धको म्याचमा रोहितले महत्वपूर्ण ४७ रन बनाएर रन आउट भएका थिए । सो म्याचमा उनले आरिफ सेखसँग गरेको ८७ रनको साझेदारीले नै नेपालालाई जिततर्फ डोर्‍याएको थियो । घरेलु क्रिकेटमा ठूला सट खेल्ने ब्याट्सम्यानको रुपमा चिनिए पनि अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो यात्रामा उनले संयमित ब्याट्सम्यानको छवि बनाएका छन् । अलराउन्डर रोहितलाई कप्तान पारसले बलिङमा भने प्रयोग गरेनन् ।
४. करण केसी
बाग्लुङे युवक करण केसी नेपालका स्ट्राइक बलर हुन् । तर, उनले आफ्नो ब्याटबाट नेपाललाई फाइनलमा पुर्‍याए । क्यानडाविरुद्धको निर्णायक खेलमा नेपाल हारको संघारमा पुगिसकेको थियो ।
नेपाल ९ विकेट गुमाएर १४४ रनको अवस्थामा रहँदा हारको औपचारिकता मात्र बाँकी रहेको देखिन्थ्यो । तर, करणको दिमागमा अर्कै कुरा खेलिरहेको थियो ।
‘आए आँप, गए झटारो’ भन्ने शैलीमा करणले आफ्नो ब्याट घुमाए र नेपाललाई सनसनीपूर्ण जित दिलाए । १० औं नम्बरमा ब्याटिङ गर्न आएका करणले ३१ बलमा नटआउट ४२ रन हान्दै नेपाललाई जिताएका थिए । उनको यो ब्याटिङ नेपाली क्रिकेट समर्थकले कहिल्यै भूल्ने छैनन् ।
बलिङमा भने करण अपेक्षाकृत सफल रहेनन् । फास्ट बलरलाई हेल्प गर्ने पीच भए पनि उनले त्यसको सदुपयोग गर्न सकेनन् । उनले ६ खेलमा २ विकेट मात्र लिन सफल भए । न त उनले रनको बहाव नै रोक्न सके । नेपाली टिममा आफ्नो स्थान सुरक्षित राख्न उनले बलिङमा निकै मिहिनेत गर्नुपर्ने देखिएको छ ।
५. शरद भेषावकर
अनुभवी ब्याट्सम्यान शरद भेषावकरको प्रदर्शन यो प्रतियोगितामा सन्तोषजनक नै रह्यो । उनले कुनै म्याचमा पनि ठूलो इनिङ त खेलेनन् तर, कठिन समयमा उपयोगी रन बनाए ।
उनले ब्याटिङमा मात्र नभएर बलिङमा पनि योगदान दिए । शरदले ६ वटा म्याचमा कुल १०४ रन बनाए । यद्यपि, नेपालले उनीबाट योभन्दा बढि आशा गरेको थियो ।
कप्तान पारसले शरदलाई पार्ट टाइम बलिङमा पनि उतारे । उनको बलिङ घातक नभए पनि किफायती रह्यो । उनले प्रतियोगितामा ३ विकेट लिएका छन् ।
६. बसन्त रेग्मी
बसन्त रेग्मी नेपालका सबैभन्दा सफल बलर हुन् । तर, यसपाली उनलाई सन्दिप लामिछानेले छायाँमा पारे । बसन्तले आफ्नो स्तरअनुरुप प्रदर्शन गर्न सकेनन् ।
६ वटा खेलमा उनले ७ विकेट लिएका छन् । क्यानाडाविरुद्ध लिग चरणको अन्तिम खेलमा भने बसन्तले उत्कृष्ट बलिङ गर्दै ३४ रन खर्चेर तीन विकेट हात पारेका थिए ।
प्रतियोगिताको पहिलो खेलमा नै नामिबियाविरुद्ध नेपालले हात पारेको जितको श्रेय भने उनलाई नै जान्छ । नवौं नम्बरमा उनी ब्याटिङमा आएको बेला नेपाल ९३-७ को स्थितिमा थियो र लक्ष्य १३८ रन थियो ।
प्रमुख ब्याट्सम्यानहरु पेभिलियन फर्किसकेको अवस्थामा उनले आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । बसन्तले २४ रनमा २ छक्का र एक चौकाको मद्दतले २४ रन हानेका थिए । बसन्तले लामो समयको अन्तरालमा ब्याटिङबाट टिमलाई योगदान दिएका हुन् ।
७. सोमपाल कामी
प्रतियोगितामा फास्ट बलर सोमपाल कामीबाट नेपालले धेरै आशा गरेको थियो किनकी नामिबियाको पीच उनको बलिङलाई सुहाउँदो थियो । तर, सोमपालको प्रदर्शन औसत मात्र रह्यो ।
लिगचरणमा यूएईविरुद्ध सोमपालले उत्कृष्ट बलिङ गरेका थिए । यो खेलमा उनले ३० रन खर्चेर चार विकेट लिएका थिए । यूएईविरुद्धकै उपाधि भिडन्तमा भने सोमपाल फिक्का बने । फाइनलमा उनले ५६ रन दिएर एक विकेट मात्र हात पार्न सफल भए ।
प्रतियोगिताभरी सोमपालले ४८ ओभर बलिङ गर्दा जम्मा १० विकेट झारेका छन् । उनी सर्वाधिक विकेट लिने बलरहरुको सूचीमा दशौं नम्बरमा छन् ।
सोमपाल तल्लो क्रमका उपयोगी ब्याट्सम्यान समेत हुन् । केन्याविरुद्धको खेलमा अन्तिम बलमा २ रन बनाउने जिम्मेवारी उनको काँधमा आइपुगेको थियो, जसमा उनी सफल भए । त्यसबाहेकका खेलहरुमा उनको ब्याटिङ उल्लेखनीय रहेन ।
८. आरिफ सेख
आरिफ सेखले केही समययता नियमित रुपमा राष्ट्रिय टिममा स्थान बनाउँदै आएका छन् । घरेलु क्रिकेटमा राम्रो ब्याटिङ गर्दै आएका आरिफ अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खासै चल्न सकेका थिएनन् । यो प्रतियोगितामा भने उनले केही प्रभाव पारेका छन् ।
लिग चरणमा केन्याविरुद्ध उनको योगदान महत्वपूर्ण थियो । एक सय ७८ रन पछ्याइरहेको नेपाल ८२-५ को संकटपूर्ण अवस्थामा थियो । आरिफले रोहितकुमार पौडेलसँग ८७ रनको उत्कृष्ट साझेदारी गरे । उनले व्यक्तिगत ४७ रन बनाएका थिए ।
यसबाहेक क्यानाडाविरुद्ध उनले बनाएको २६ रन अन्त्यमा महत्वपूर्ण सावित भएको थियो ।
९. दिलिप नाथ
नेपालले ओपनिङमा ज्ञानेन्द्र मल्लको जोडीका रुपमा विभिन्न ब्याट्सम्यानलाई प्रयोग गरिरहेको छ । पछिल्लो पटक दिलिप नाथ आएका छन् । उनी विकेटकिपर ब्याट्सम्यान हुन् ।
नेपालले खेलेका ६ मध्ये ५ मा दिलिपले मौका पाए, जसमध्ये एउटा खेलमा मात्रै उनको ब्याटिङ उल्लेखनीय रह्यो । क्यानाडाविरुद्ध उनले फुर्तिलो ब्याटिङ गर्दै ४१ रन बनाएका थिए । कुल ५ म्याचमा उनले ७५ रन जोडेका छन् ।
नेपालको ओपनरका रुपमा आफ्नो दिगो स्थान बनाउन उनले अझै निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
१०. दिपेन्द्र सिंह ऐरी
नेपाली टिममा निकै आशा गरिएका युवा खेलाडी हुन् दिपेन्द्र सिंह ऐरी । उनी एक्लो बलबुतामा म्याच जिताउने क्षमता राख्छन् । तर, यो प्रतियोगितामा दिपेन्द्र चम्किन सकेनन् ।
चौंथो नम्बरमा ब्याटिङ गर्न आएका उनी केही उपयोगी पार्टनरसीपमा सहभागी भए तापनि ठूलो व्यक्तिगत स्कोर बनाउन चुके । ६ वटै खेलमा ब्याटिङ गरेका दिपेन्द्रले कुल मिलाएर ८४ रन मात्र बनाएका छन् ।
उनले फाइनल म्याचमा यूएईविरुद्ध सर्वाधिक ३५ रनको योगदान दिएका थिए भने कप्तान पारसँग राम्रो साझेदारी निभाए ।
११. ज्ञानेन्द्र मल्ल
नेपाली ब्याटिङका एक खम्बा उपकप्तान ज्ञानेन्द्र मल्ल प्रतियोगितामा फिक्का भए । भरपर्दा ओपनर मानिँदै आएका उनको ब्याटबाट उल्लेखनीय रन निस्किन सकेन ।
६ वटा इनिङ खेल्दा उनी पाँचपटक सिंगल डिजिट स्कोरमा आउट भएका थिए । फाइनलमा उनले यूएईविरुद्ध राम्रो सुरुवात गरे पनि लामो इनिङ खेल्न सकेनन् ।
मल्लले केन्याविरुद्ध विकेट किपरको समेत भूमिका निर्वाह गरे । त्यतिबेला उनले सुरुमै दुईवटा क्याच छोड्न पुगे । प्रतियोगितामा उनले जम्मा ६९ रन मात्र बटुल्न सफल भए ।
१२. अनिलकुमार शाह
घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेर राष्ट्रिय टिमका लागि छानिएका अनिलकुमार शाहको यो डेब्यू प्रतियोगिता थियो । तर, उनले एउटा खेलमा मात्रै मौका पाए ।
लगातार तीन खेलमा दिलिप नाथ नचलेपछि केन्याविरुद्ध उनलाई ओपनिङमा ल्याइएको थियो । तर, पहिलो बलमै आउट भए । उनले त्यसपछि मौका पाएनन् ।
१४ सदस्यीय नेपाली टोलीका २ सदस्यले भने यो प्रतियोगितामा एक खेल पनि खेलेनन् । उनीहरुमध्ये एक भेट्रान बलर शक्ति गौचन पनि हुन् । उनीसँगै युवा बलर ललित भण्डारी नेपाली टोलीमा त र रहे तर, एक खेल पनि नखेली फर्किएका छन् |

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages