बुधबार बिहान गुन्डा नाइके मनोज पुन र उनका प्रमुख सहयोगी सोमबहार आले प्रहरी कारबाहीमा मारिए ।
बिहान करिब ३ बजे प्रहरीले देवदह नगरपालिका–४, भवानीपुरमा प्रहरी इन्काउन्टरमा उनीहरुको ज्यान गएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त अप्रशनमा उनीहरु मारिएका हुन् ।
गुन्डा नाइके पुनले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई ४ पुस ०७३ मा गोली प्रहार गरी हत्या गरेका थिए । फरार रहेकै वेला उनले २१ पुस ०७४ मा तिवारीका साथी बलु पौडेलको हत्या गरे ।
२३ असोज ०७४ मा भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा उनको संलग्नता रहेको प्रहरीको भनाइ थियो ।
उनै पुन र उनका सहयोगी सार्पसुटर आलेलाई इन्काउन्टर गर्ने रुपन्देही प्रहरीका प्रमुख एसपी श्याम ज्ञवालीले इन्काउन्टर प्रकरणको यसरी वेलिविस्तार लगाएः–
युवा संघ, रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारी, उनका साथी एवं फर्निचर व्यवसायी बलु पौडेल लगायतका घटनामा संलग्न मनोजबहादुर बुढामगरको खोजीमा पहिल्यैदेखि प्रहरी परिचालित भएको थियो । उनी ‘मोस्ट वान्टेड’ सूचीमा थिए ।
त्यसैक्रममा बुधबार हामीलाई पुन रुपन्देही छिरेको सूचना प्राप्त भयो । हामीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पनि सहयोग गरिरहेको थियो ।
ट्रेसिङदेखि लिएर अन्य विभिन्न टेक्निकल काममा हामीलाई ब्यूरोले सहयोग गरेको हो । सूचना पाएलगत्तै हामीले खोजतलासलाई व्यापक बनाएका थियौं ।
उनको खोजीका लागि भारतमा रेड कर्नर नोटिस पनि जारी भएको थियो । उनले कहिले आफू भारतमा कहिले मलेसियामा रहेको बताउँदै आएका थिए ।
बिहान करिब तीन/साढे ३ बजेको समयमा हामीले देवदह–४, भवानी भन्ने स्थानमा पल्सर मोटरसाइकलमा उनीहरुलाई फेला पार्यौं । प्रहरीसँग जम्काभेट हुने वित्तिकै उनीहरुले गोली चलाए ।
हाम्रो टोलीले जवाफी फायरिङ गर्दा उनीहरु घाइते भए । लगत्तै लुम्बिनी अञ्चल अस्पतालमा लगियो । जहाँ चिकित्सकहरुले मृत घोषणा गरे ।
उनीहरुको साथबाट एउटा अटोमेटिक पेस्तोल समेत बरामद भयो ।

No comments:
Post a Comment